कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, नयाँ इपिसेन्टर बन्ने खतरामा ल्याटिन अमेरिका 

हेटौडा न्युज
८ जेष्ठ २०७७, बिहीबार १४:२२
;

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ । यसक्रममा ल्याटिन अमेरिकी देशहरूले संक्रमित संख्यामा अमेरिका र युरोपलाई पछि पारेका छन् ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार विश्वमा दैनिक कोरोना संक्रमणमा वृद्धि देखिएको छ ।  

यसले भाइरस संक्रमण नयाँ चरणमा पुगेको देखाएको छ । फरवरीमा चीनमा धेरै देखिएको भाइरसले त्यसपछि क्रमशः युरोप र अमेरिकामा महामारीको रूपधारण गरेको थियो । 

यो साताको सुरूमा रिपोर्ट भएका ९१ हजार केसहरूमा एक तिहाई केस ल्याटिन अमेरिकी देशहरूमा देखिनुले महामारीले नयाँ इपिसेन्टर बनाउने देखाएको छ । यो संक्रमित संख्यामा युरोप र अमेरिकाको हिस्सा भने २० प्रतिशत भन्दा केही बढीमात्र छ ।

ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा बढी केस ब्राजिलबाट छन् । संक्रमित संख्यामा उसले हालैमात्र जर्मनी, फ्रान्स र बेलायतलाई उछिनेको छ । हाल ब्राजिल अमेरिका र रसियापछि धेरै कोरोना संक्रमित भएको तेश्रो देश हो ।

कोरोना संक्रमणले ६ महिनाको अवधिमा गरेको असर गम्भीर फ्लुले एकवर्षको अवधिमा गर्ने असर भन्दा बढी भइसकेको छ । वार्षिकरुपमा ३० देखि ५० लाख मानिसहरू गम्भीर प्रकृतिको फ्लूबाट प्रभावित हुने गरेको अनुमान विश्व स्वास्थ्य संगठनको छ ।

कोरोना महामारीका कारण हालसम्म ३ लाख २६ हजारबढी मानिसको ज्यान गइसकेको छ तर वास्तविक संख्या यो भन्दा अझ धेरै हुनसक्ने अनुमान छ । धेरै देशले अस्पताल बाहिर भएका मृत्युको तथ्यांकलाई समावेश नगरेकाले वास्तविक संख्या भनिएभन्दा बढी हुनसक्ने ठानिएको हो ।

यस्तै अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको पहिलो खोप परीक्षणले देखाएको सम्भावनाले बजारमा केही वृद्धि देखिएको रोयटर्सले जनाएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*