९ वर्षीय बालकको शंकास्पद मृत्यु, गाडेकै ठाउँबाट निकालियो शव, शिक्षिकाको कुटाईबाट मृत्यु भएको आंशका

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार १८:५८
;

एक बालकको शंकास्पद मृत्यु भएको भन्दै गाडिसकेको शव प्रहरीले पुनः निकालेको छ । नवलपरासीको परासीमा निकालिएको शव पोष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।

नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम इङ्लिस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको शव प्रहरीले पोष्टमार्टमका लागि पठाएको हो ।

बालकको मृत्यु शंकास्पद भएपछि शव पोष्टमार्टका लागि काठमाडौंस्थित टिचिङ्ग अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जनाएको छ । आइतबारर मृत्यु भएका बालकको शव पोस्टमार्टम नगरी खोला किनारामा लगि गाडिएको शव प्रहरीले पुनः निकालेको हो ।

गएको शुक्रबार विहान स्वस्थ रुपमा विद्यालय आएका बालक पासवान एक्कासी विरामी परेको भन्दै उपचारका लागि पृथ्वी चन्द्र अस्पताल लगिएको थियो । आफन्तले भने बालकको विद्यालयमा भएको कुटपिटबाट निधन भएको दाबी गरेका छन् ।

बालकको उपचारको लागि शुरुमा जिल्ला अस्पताल लगिएको भए पनि उक्त अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भन्दै अन्य अस्पतालमा लैजान रिफर गरेको थियो । त्यसपछि उनलाई भैरहवा लगिएको थियो भने त्यहाँबाट पनि चिवतन मेडिकल कलेज पठाइएको थियो ।

बालकको आइतबार राति मृत्यु भएको हो । पढाउने क्रममा शिक्षिकाले बालकको हातमा पिट्न खोज्दा गल्तीले टाउकोमा लागेको र बालकले कक्षा कोठामा नै बान्ता गरेको बालकका पिता बैजनाथ पासीले दाबी गरेका छन् ।

विद्यालय प्रशासनले भने बालक पहिलादेखि नै विरामी रहेको र कक्षाका पढाउने क्रममा बालकले वान्ता गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जनाएको छ । विद्यालयका कारण बालकको मृत्यु नभएको स्कूलका प्रधानाचार्य राधेरमण पाण्डेले बताएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न शव पोष्टमार्टमका लागि पठाएको र घटनाको छानवीन गरिरहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*