नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य प्रस्तुत भएको छ ।
आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।
ओपनर सुवास खकुरेल २२ रन बनाएर आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको स्कोर उकासेका थिए । यसक्रममा पारस ३८ रनमा पेभेलियन फर्के भने कप्तान मल्लले ५६ रन जोडे ।
अनुभवी ब्याट्स्म्यान पेभेलियन फर्केपछि आरिफ शेख र कुशल मल्लले नेपालको पारी सम्हालेका थिए । आक्रामक ब्याटिङ गरिरहेका कुशल र आरिफ शेखले समान २८/२८ रन बनाए । विनोद भण्डारीले ४५ तथा करण केसीले १० रनको योगदान गरे ।
जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।