बागमती गोल्डकपको तयारी तीब्र, ६७ लाख खर्चको अनुमान
आगामी फाल्गुण १ देखि १० गतेसम्म हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि बागमती गाउँपालिका वडा नम्बर–८ को जनता उच्च माविको खेलमैदान सम्याउने काम धमाधम भईरहेको छ । प्रतियोगिताको लागि खेल मैदान सम्याउने र घाँस उमार्ने काम भईरहेको छ भने प्याराफिट निर्माणको काम सम्पन्न भएको आयोजकले जनाएको छ ।
गोल्डकप मूल आयोजक समितिका अध्यक्ष अरुण बलका अनुसार प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमको सहभागिता हुने जनाएका छन् । उनका अनुसार हिमालय शेर्पा क्लव, संकटा, सरस्वाती र जावलाखेल, आयोजक टीमसहित, मकवानपुर ११, बीरगंज यूनाईटेड, बागमती नगरपालिका सर्लाही र नवजनजागृति क्लब सिमराले भाग लिने बताएका छन् ।
आयोजकले प्रतियोगिता अवधिभर करीब ३० हजार दर्शकले खेल अवलोकन गर्ने अनुमान गरेको छ । प्रतियोगितामा करीब ६७ लाख खर्च हुने अनुमान गरेको आयोजक समितिका सचिव भीम राईले जानकारी दिएका छन् ।
२०७४ सालमा १ लाख प्रथम पुरस्कारबाट शुरु भएको गोल्डकप तेस्रो संस्करण सम्म आइ पुग्दा पुरस्कार राशि बढाएर प्रथम् हुनेले
६ लाख रुपैयाँ द्वितीय हुनेले ३ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । त्यस्तै सर्बोत्कृष्ट खेलाडीले ५० हजार र अन्य पाँच विद्यामा १०/१० हजार पुरस्कार राशि घोषणा गरिएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले जनही ५ हजार प्राप्त गर्नेछन् ।