अमेरिकी सेना इराकबाट हट्नुपर्ने भन्दै विशाल प्रदर्शन, ‘नो, नो अमेरिका’ नारा घन्कियो
इराकका प्रभावशाली शिया धर्मगुरु मोक्तदा अल–सद्रका सयौं समर्थकहरूले राजधानी बग्दादमा शुक्रवार भेला भएर देशबाट अमेरिकी सैनिकहरूलाई हट्न माग गरेका छन् । अमेरिकाको ड्रोन आक्रमणमा इरानी कमान्डर कासिम सुलेमानीको हत्या भएपछि यो माग उठेको हो ।
शुक्रवारको जुम्मा प्रार्थनापछि लाउडस्पीकरहरूले घन्काए, ‘अमेरिका हुन्न हुन्न ।’ एक बालकले यस्तो लेखिएको पोस्टर उठाए, ‘अमेरिका मूर्दाबाद । इजरायल मूर्दाबाद ।’
इराकको केन्द्रीय सरकारी कार्यालय तथा अनेकौं विदेशी दूतावासहरू रहेको ग्रीन जोन जाने सडक र पुलहरूलाई कंक्रिट ब्यारियर ठड्याएर रोकिएको छ । इराकका सुरक्षाबलहरूले ग्रीन जोन जाने ढोकाहरू रोकिरहेका छन् ।
विरोधकर्ताहरू बग्दाद र देशका दक्षिणी प्रान्तहरूबाट आएका हुन् र उनीहरू जदरिया टोलसम्म पैदलै पुगेर भेला भएका थिए । उनीहरूले इराकी झण्डा फर्फराएका थिए र प्रतीकात्मक कात्रो ओढेका थिए ।
शिया धर्मगुरु मोक्तदा अल–सद्रको पार्टीले सन् २०१८ मा भएको आमनिर्वाचनमा सबभन्दा बढी सीट जितेको थियो । सुलेमानीको मृत्युपछि उनले अमेरिकी सैनिकहरू इराकबाट हट्नुपर्ने माग राख्दै १० लाख मानिसले प्रदर्शन गर्न आह्वान गरेका थिए ।
शुक्रवारको प्रदर्शनलाई मूलधारका शिया पार्टीहरूले समर्थन गरेका छन् । अल–सद्रका राजनीतिक प्रतिद्वन्द्वी हादी अल–अमेरीको फतह अनि मिलिसियाहरूको छाता संगठन पपुलर मोबिलाइजेसन युनिट्स र इरानसमर्थित समूहहरूले प्रदर्शन गरेका छन् ।
अमेरिकी आक्रमणविरुद्ध इराकको संसद्ले एक गैरबाध्यकारी प्रस्ताव पारित गर्दै सरकारलाई देशबाट विदेशी सेना निष्काशन गर्न आह्वान गरेको छ । तर कुर्दिश र अधिकांश सुन्नी सांसदहरूले मतदान बहिष्कार गरेका थिए । एजेन्सी