जालिसको बयानको आधारमा नेपालतर्फ निगरानी बढाउदैं भारतीय सुरक्षाकर्मी

हेटौडा न्युज
८ माघ २०७६, बुधबार २१:४०
;

आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा भारतको कानपुरमा गिरफ्तार गरिएका डा. जलीस अन्सारीको बयानका आधारमा भारतीय प्रहरीले नेपालतर्फ निगरानी बढाउन थालेको छ ।

गिरफ्तार गरिएका जलीसको सम्बन्ध नेपालमा रहेको र उनी नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आईएसआई’लाई मजबुत बनाउने भूमिकामा सक्रिय रहेको भारतीय प्रहरीको निष्कर्ष छ ।

शृङ्खलाबद्ध विस्फोटमा दोषी ठहर भई अजमेर जेलमा आजीवन कारावासको सजाय भोग्दै आएका उनी जेलबाट दैनिक हाजिरीको शर्तमा केही दिनका लागि रिहा भएका थिए । कैदीले पाउने ‘पेरोल’ सुविधा प्रयोग गर्दै रिहा भएका उनी रिहाइको शर्त उल्लंघन गर्दै फरार भएपछि भारतीय प्रहरीले खोजी सुरु गरेको थियो ।

उत्तर प्रदेश प्रहरीले उनलाई कानपुरबाट नियन्त्रणमा लिएको बताइन्छ । भारतीय संचारमाध्यमअनुसार जलीसले उत्तर प्रदेशमै ठूलो आतङ्कवादी घटनाको लक्ष्य बनाएको भारतीय प्रहरीको अनुमान छ । उनी नेपाल जाने र नेपालमै स्थायी बसोबास गर्ने योजनामा रहेको तथ्यहरु खुलासा भएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।

यद्यपि जलीस कानपुरसम्म आउँदा क–कसलाई भेटे, उनी कुन उद्देश्यका लागि कानपुर पुगे र उनको सम्पर्कमा को–को थिए भन्नेबारे प्रहरीले पत्ता लगाउन नसकेको जनाइएको छ । हाल उनीसँग सोधपुछ भइरहे पनि महत्त्वपूर्ण उपलब्धि हासिल हुन नसकेको बताइन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*