अस्ट्रेलियामा विपत्तिको लहर, आगलागीपछि ठूलो असिना पानीको वितण्डा
अस्ट्रेलियामा प्राकृतिक विपत्तिको लहर देखिएको छ। आगलागीपछि अस्ट्रेलियामा ठूलो असिना पानीले वितण्डा मच्चाएको छ।
ठूलो आगलागी जारी रहँदा पानी परोस् भन्ने चाहना तर पानी परेपछि भने त्यसले अर्को समस्या थपिदिएको छ।
अस्ट्रेलियाको क्यानबेरामा सोमबार ठूलो पानी परेको थियो। पानीसँगै गल्फको बल जत्रा असिना परेपछि भने मानिसहरुलाई ज्यान जोगाउन हम्मेहम्मे परेको स्थानीय संचारमाध्यमले जनाएका छन्।
उक्त असिनाले कार तथा घरहरुमा क्षति पुगेको जनाइएको छ। पानी पर्न अगाडि ठूलो धुले आँधी आएको पनि थियो।
१५ मिनेटसम्म लगातार असिना परेको थियो। असिनाले चरा तथा जनावरहरु घाइते भएका छन्। अस्ट्रेलियाको आगलागीले न्यु साउथ वेल्समा ठूलो क्षति पुगेको थियो।
न्यु साउथ वेल्समै पानी, धुले आँधी र असिनाले अर्को समस्या थपिदिएको हो।
पानी सिमित क्षेत्रमा परेकाले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा लागेको आगलागी भने नियन्त्रणमा आउन सकेको छैन।
झाडीबाट सुरुवात भएको आगलागी प्राय सबै राज्यमा जारी छ। हालसम्म आगलागीले २८ जना मानिसको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्।
आगलागीले करोडौं जनावर तथा चराचुरुंगी मरेको जनाइएको छ। एजेन्सी