१४ वर्षमा विवाह, १६ वर्षमै विधुवा, मायाको काँधमा दुई लालाबाला
दुई वर्षीया छोरीलाई दायाँ हातले डोर्याउँदै छिन्, बायाँ हातले ६ महिनाको काखेछोरालाई च्यापेकी छन् ।
उनी हुन् , नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१, घ्याङफ्दीकी माया तामाङ।
उमेरले भर्खरै १६ वर्ष पूरा गरेकी दुई सन्तानकी आमा माया ‘विधुवा’ ९एकल महिला० हुन्। एक वर्षअघि घ्याङडाँडामा भएको मिनिट्रक दुर्घटना उनले पति मङ्गले तामाङलाई गुमाइन्।
१४ वर्षको कलिलो उमेरमै मायाले विवाह गरेकी थिइन्। पारिवारिक जीवनमा परिपक्वता महसुस गर्न नपाउँदै उनी ‘विधवा’ बन्नुपर्यो।
पतिको मृत्युपछि यी दुई लालाबालाको पालनपोषण गरी हुर्काउने जिम्मा मायाकै काँधमा आएको छ। कतैबाट आर्थिक सहायता छैन। बिहान/बेलुका हातमुख जोर्न अरुकहाँ ‘बनिबुतो’ गर्नुपर्ने बाध्यता छ उनको।
पतिको मृत्युपछि यी दुई लालाबालाको पालनपोषण गरी हुर्काउने जिम्मा मायाकै काँधमा आएको छ। कतैबाट आर्थिक सहायता छैन। बिहान-बेलुका हातमुख जोर्न अरुकहाँ ‘बनिबुतो’ गर्नुपर्ने बाध्यता छ उनको।
विवाहपछि मङ्गलेले ज्यालामजदुरी गरेर भए पनि परिवारको खर्च जुटाउँदै आएका थिए। दुर्घटनामा मङ्गलेको मृत्यु भएपछि आफू र छोराछोरीको बिचल्ली भएको उनले सुनाइन्।
२०७५ मङ्सिर २८ गत उनका लागि कालोदिन हो। त्यसदिन भएको मिनिट्रक दुर्घटनामा उनका पति मङ्गलेसहित गाउँका १८ आफन्तको मृत्यु भएको थियो। केही दिनसम्म त पति वियोगको पीडाले उनी छटपटीमा रहिन्। आखिर, संसारको अन्तिम सत्य अर्थात् पतिको मृत्युलाई स्वीकार गरिन् उनले।
अचेल, तामाका मुनाजस्ता छोराछोरीमै उनले मङ्गलेको रूपाकृति देख्न थालेकी छन्।
माया धेरै कुरा बुझ्ने भएकी छैनन्। नयाँ मानिस देख्दा त्यति खुल्दिनन्। उनी अवोधजस्तै छिन्। जीवनका दुःख-सुख अनि परिवारको बारेमा धेरै सोच्ने परिपक्वता आएको छैन उनमा। गाउँमा कसैले काम गर्न बोलायो भने सघाउने र, त्यसबापत पाएको पैसा र अन्नले उनले परिवारको गुजारा चलाउँदै आएकी छन्।
दुई सन्तानलाई सँगै लिएर हिँड्दै गरेको बेला भेटिएकी मायाले खुलेर कुरा गर्न चाहिनन्।
‘मलाई ठिकै छ, सञ्चै छु,’ बस्, यति कुरा गरेर कुराकानी टुङ्ग्याइन्।
यहाँ सयभन्दा बढी तामाङ परिवारको बसोबास छ। गरिबी र अशिक्षाको कारण यहाँ सानै उमेरमा केटाकेटीले विवाह गर्ने चलन छ।
अझै केटीहरूको १२/१३ वर्षदेखि नै विवाह हुन थाल्छ। मायाले विवाह गरेको एक वर्षपछि १५ वर्षको उमेरमै पहिलो सन्तान छोरी जन्माइन्। फेरि, १६ वर्षको उमेरमा दोस्रो सन्तानका रूपमा उनले छोरालाई जन्म दिइन्। श्रीमान् बित्दा गर्भमा तीन महिनाको छोरा थियो।
उनी वृद्ध ससुरा बुद्धिबहादुर र सासु जुङ्कु मेन्दो तामाङलाई स्याहार गरेर बसेकी छन्।
घ्याङफेदी गाउँमा अधिकांश महिला निरक्षर छन्। शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् उनीहरू। त्यहाँका तामाङ महिलाको सोझोपनमाथि फाइदा उठाउँदै मानवतस्करले उक्त गाउँलाई चेलीबेटी बेचबिखनको केन्द्र बनाएको स्थानीयले बताएका छन्। आर्थिक फाइदा र रोजगारीको लोभले यो गाउँका दर्जनौं महिलालाई विभिन्न कोठीमा बेचिएका घटना यसअघि सार्वजनिक भएका छन्। स्रोत: नेपालखबर