बासुदेव सभागृह कुनैपनि हालतमा भत्किदैँन: अध्यक्ष थापा
हेटौंडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौरमा रहेको बासुदेव सभागृह र स्व. राजा वीरेन्द्रको शालिक कुनैपनि हालतमा भत्काउन नदिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।
ट्रेड युनियन महासंघ नेपालद्वारा शनिबार हेटौंडामा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सभागृह र स्व. वीरेन्द्रको शालिकलाई भत्काएर सोही स्थानमा भ्यु टावर बनाउन नदिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सभागृह भत्काउनुको साट्टा थप स्तरोन्ती गर्नुपर्ने बताएका हुन् ।
अहिले रहेको दुई तिहाईको सरकारले भ्यू टावर निर्माण गर्ने भनी लिएको सपना अजिब भएको भन्दै देशमा विद्यमान अशिक्षा र भोकमरीको समस्यालाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
अध्यक्ष कमल थापाले बागमती प्रदेश सरकारले काठमाडौं–हेटौंडा जोड्ने सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
विगतमा धेरैपटक सुरुङ मार्ग निर्माणको लागि प्रयास गरिएपनि प्राविधिक र नीजि स्वार्थले उक्त कार्य पुरा हुन नसकेकोले उक्त कार्य प्रदेश सरकारले आफ्नै हातमा लिई गर्नका लागि पनि आग्रह गरेका हुन् ।
अध्यक्ष थापाले अमेरिकन सरकारसँग तत्कालिन नेपाल सरकारले राष्ट्रिय सहमतिको आधारमा एमसीसी सम्झौता गरिएको हो तर, त्यो सम्झौतामा सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनको लागि नगरिएको बताए ।