मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ता प्राहार, ४ जना पक्राउ
जनकपुरमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ताले प्राहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मन्त्रीको फोटोमा जुत्ता लिएर पिटेपछि जनकपुरधामको जिरोमाइलबाट विमलेश चौधरी, शंकर साह, रोशन सिंह राजपुत र रोशन ठाकुरलाई पक्राउ गरेको हो ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शन सहित जुत्ता प्राहार गरिएको हो ।
उपभोक्ता समितिले काम गरेपनि पैसा नदिएपछि आक्रोशित बनेकाहरुले विरोधको नयाँ शैली अपनाएका हुन् ।
गत आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यसै कारण उपभोक्ता समिति आन्दोलनमा उर्लेका छन् । आर्थिक मसान्तको अन्तिम सातामा योजना पाएकाहरुमा अधिकांश राजनीतिकर्मीहरु रहेका छन् । यसै विषयलाई प्रदेशसभाको बैठक पनि अवरुद्धको कारण बनेको छ
यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन गर्नुका साथै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
।