सरकारले १४ जिल्लामा क्रसर उद्योग सञ्चालन गर्न दिने

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १९:५४
;

सरकारले १४ जिल्लाको डाँडा फोरेर क्रसर उद्योग सञ्चालन गर्न दिने भएको छ । अधिकांश खोलामा क्रसर उद्योग चल्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले क्रसर उद्योगको लागि १४ जिल्लाको ९१ वटा डाँडामा रहेको खानीको पहिचान समेत गरिसकेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी कार्ययोजना सार्वजनिक गर्दै ढुंगा, गिट्टी, बालुवाजस्ता निर्माणजन्य कच्चापदार्थको खोला, नदी स्रोतहरु मात्र रहेको निर्भरतालाई क्रमशः कम गर्दै लैजान पहिचान भएको डाँडाहरुमा बोलपत्र आह्वान गर्ने प्रक्रियामा जानलागेको जनाईएको छ ।

आगामी छ महिनाभित्र यसको काम सुरु गरिसक्ने र सरकारले निर्माणजन्य सामग्रीहरुको खरिदबिक्रीसम्बन्धी इकाइ तोकिने समेत मन्त्रालयले जानकारी दिएको छ । त्यस्ता सामग्री ढुवानी साधनको जाँच प्रमाणित गर्ने जनाएको छ।

मन्त्रालयले आगामी कार्यक्रमहरु सार्वजनिक क्रममा आगामी तीन महिनाभित्र अत्तरिया धनगढी र इटहरी विराटनगर औद्योगिक करिडोरको सम्भावना अध्ययन सुरु गरिनुका साथै पहिले नै घोषणा भएको ३२ वटा औद्योगिक ग्रामको पूर्वाधार निर्माणको लागि १५ दिनभित्र ९२ लाख रुपैयाँको दरले रकम निकासा हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै बैतडीमा फोस्फोरेट खनिजको अन्वेषण कार्यको अन्तिम ड्रिलिङ कार्य यसै वर्ष सम्पन्न गरी मल उत्पादन गर्ने उद्योगको  प्रवद्र्धन उद्योग मन्त्रालयले गर्नेछ । तीन सयवटा वैज्ञानिक नापतौल उपकरणको क्यालिब्रेसन सेवा प्रदान गरी गुणस्तर विकास गर्दै लगिनेछ।

वाणिज्यतर्फ नेपाल भारत वाणिज्य सन्धिको बृहत् पुनरवलोकनका लागि सहसचिवस्तरमा चौथो चरणको वार्ता गरिने मन्त्रालयले जनाएको छ । फागुनभित्र बंगलादेशसँग पनि सचिवस्तरीय वार्ता नेपालले गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टअन्तर्गत वस्तु निर्यातका लागि अमेरिकासँग पनि वस्तु विकास र निर्यातको क्षमता विकास सम्बन्धमा वार्ता गर्ने र  भियतनाम र कम्बोडियासँग भने तीन महिनाभित्र वार्ता गरिने जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*