नेकपा संसदीय दलको बैठक स्थगित, प्रदेशसभामा राजधानी प्रस्ताव गर्न सांसदबीच होडबाजी

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार २०:१६
;

सत्तारुढ दल नेकपा प्रदेश ३ को संसदीय दलको बैठक बिना निश्कर्ष स्थगित भएको छ । मुख्यमन्त्री निवासमा बिहान ८ बजेदेखि बसेको बैठक  बिना निर्णय भोली शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको हो ।

बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको सम्बन्धमा छलफल चलिरहेको छ । नेकपा सचिवालयले राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिएपछि संसदीय दलको बैठक गत शुक्रबारदेखि लगातार बसिरहे पनि निश्कर्ष बिहिन बनिरहेको छ ।

राजधानी हेटौंडा राख्न सांसदहरु विभाजित भएपछि बैठक बिनानिश्कर्ष स्थगित हुँदै आइरहेको छ । दलको ठोस निर्णय नहुँदा राजधानी र नाम तोक्न मतदान प्रक्रिया पनि अनिश्चित बनेको छ ।

प्रदेश ३ को राजधानीका लागि प्रदेशसभामा प्रस्तावका लागि स्थान तोक्न सांसदबीच होडबाजी नै चलेको छ । यता मुख्यमन्त्री डोरमणि पौडेलले राजधानीका लागि हेटौंडाको नाम मात्र प्रदेश सभामा प्रस्ताव लैजान आग्रह गरेकाछन् ।

नेकपाको सचिवालयको निर्देशन अनुसारकै प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती मात्रै प्रदेशसभामा प्रस्ताव गर्न आग्रह गरेका हुन् ।

केही सांसद भने राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्लालाई नै प्रदेश सभामा प्रस्ताव लैजानु पर्ने माग राखेकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*