कालापानी नेपालको हो, भारतसँग वार्ता गर्न चाहन्छौं : नेपाली राजदूत आचार्य 

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार २२:३५
;

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानी नेपालको भूभाग भएको बताउँदै भारतसँग वार्ता गर्न चाहेको बताएका छन् ।

द्विपक्षीय सम्बन्धमा दरार पैदा गर्नबाट जोगाउन यस समस्यालाई चाँडै सम्बोधन गर्नुपर्नेसमेत उनले बताए । 

सीमाका मुद्दालाई समाधान गर्न काठमाडौंले नयाँ दिल्लीलाई दबाब दिइरहेका बेला मंगलबार टाइम्स अफ इन्डियासँग बोल्दै राजदूत आचार्यले कालापानीको मुद्दालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समाधान गर्नुपर्ने बताए ।

उनले भने, " नेपाल-भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्र छ । यस संयन्त्रमार्फत कालापानीको मुद्दालाई पनि चाँडो समाधान गर्नुपर्दछ ।" 

सुगौली सन्धीअनुसार पनि कालापानी नेपाली भूभाग नै भएकोसमेत राजदूत आचार्यले बताएका छन् । 

"हामीलाई थाहा छ कि भारत वार्ताको विरुद्धमा छैन तर, नेपालले यस समस्यालाई समाधानका लागि चाँडो वार्ता गर्न चाहेको छ," उनल थपे, "कालापानीको मुद्दालाई नेपालले सानो रुपमा हेरेको छैन । यदि यो समस्या समाधानले आगामी दिनमा दुई देशबीचको सम्बन्धबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्‍नेछ ।" 
भारतसँगको ९८ प्रतिशत सीमा समस्या समाधान भएको बताउँदै उनले भने, "यस्तो विवादलाई बढाउनेतिर लाग्‍नु हुँदैन ।" 

नेपालले वार्ताको मितिका लागि प्रस्ताव गरेको बुझिएको छ । 

तर, भारत पक्ष स्पष्टरुपमा तयार भइनसकेको टाइम्स अफ इन्डियामा प्रकाशित समाचारमा उल्लेख छ ।

भारतले जम्मु-काश्मीरको विषयलाई लिएर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा भारतले नेपाली भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेपछि यो विवाद फेरि चुलिएको हो । नेपालमा भारतले नेपाली भूभाग कब्जा गर्न खोजेको भन्दै विरोध प्रदर्शनहरु भएका थिए । स्रोत :बाह्रखरी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*