धितोपत्र बोर्डको अध्यक्षः ८ जनाको आवेदन तिन, जना सिफारीस
धितोपत्र बोर्डको अध्यक्षमा तिन जनाको नाम सिफारीसमा परेका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया छनोट समितिले अघि बढाएसंगै ३ जना सिफारीसमा परेका हुन् ।
पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाको आवेदन परेको थियो । बोर्डको अध्यक्ष बन्न ८ जना आवेदन दिएकोमा ३ जना सर्ट लिस्टमा परेका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि भिष्मराज ढुंगाना, निरज गिरी र डा.केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । उनीहरु मध्येबाट एक जनालाई अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्ति गर्नेछ ।
बलियो दाबेदारका रुपमा हेरिएका नेकपा निकट बोर्डका निर्देशक डा.नबराज अधिकारीको नाम सर्ट लिस्टमै परेको छैन । अर्थमन्त्रीसँग पनि राम्रो सम्बन्ध भएका अधिकारी आफू अध्यक्ष बन्ने पक्का भएको बताउँदै आएका थिए ।
अध्यक्षका लागि बोर्डकै नेपाल स्टक एक्स्चेन्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक नीलसार मगर र ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसमेतले आवेदन दिएका थिए ।
सर्टलिस्टको पहिलो नम्बरमा पर्न सफल ढुंगानाले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् । गभर्नर पूर्वएमालेले लिने र बोर्ड अध्यक्ष पूर्व माओवादीलाई दिने गरी राजनीतिक सहमति भएको खण्डमा भने श्रेष्ठे हुन सक्ने सम्भावना देखिएको छ ।