गैरसरकारी संस्थाको सिकाई आदान–प्रदान कार्यक्रम सम्पन्न

हेटौडा न्युज
६ आश्विन २०७६, सोमबार ००:३२
;

मकवानपुर जिल्लामा रहेका गैरसरकारी संस्थाहरुले आफ्ना सिकाई, भोगाई एकअर्काबीच आदानप्रदान गर्ने अभिप्रायले आज हेटौंडामा गोष्ठी गरेको छ । गोष्ठी गैरसरकारी संस्था महासंघको सभाहलमा भएको थियो । गोष्ठीमा जिल्ला भित्र कार्य क्षेत्र भएका आधा दर्जन विभिन्न गैरसरकारी संस्थाहरुले आफ्नो संस्थाले गरिरहेका कार्यहरु र कार्यक्रम सञ्चालनमा देखिएका चुनौति एवम् त्यसबाट प्राप्त सिकाईहरु प्रस्तुत गरेका थिए ।
गोष्ठीमा माईती नेपालकी जिल्ला संयोजक माया लामा, डेक नेपालका मानबहादुर वाईबा, सृजनशील नेपालकी रिता ढुंगेल, फियान नेपालकी रेश्मी कार्की, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी फूलमाया लामा र ट्रान्सपरेन्सी इन्टरनेशनलकी प्रमिला थिङले आफ्नो संस्थाको तर्फबाट प्राप्त सिकाईहरु प्रस्तुत गरेका थिए ।
""गोष्ठीकी प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले वर्तमान अवस्थामा सरकारी निकाय पुग्न नसकेको क्षेत्रमा समेत पुगेको प्रति खुशी व्यक्त गरेकी छिन् । उनले ग्रामीण क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेका गैरसरकारी संस्थाहरुलाई स्थानीय सरकारको सहयोग र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेकी छिन् । उपप्रमुख पुडासैनीले कार्य क्षेत्रमा काम नगरी आएको अनुदान वा सहयोगलाई कागजी रुपमा मिलाएर रकम सिध्याउने प्रति सबैले खबरदारी गर्नुपर्ने र बास्तबमै काम गर्ने गैरसरकारी संस्थालाई सबैले सहयोग गर्नुपर्ने बताएकी छिन् । उनले डलरको खेती गर्ने भन्ने आरोप सबैमा लागू नहुने धारणा व्यक्त गरेकी थिईन् । 
नागरिक समाज मञ्च मकवानपुरकी अध्यक्ष तथा गैरसरकारी महासंघ, मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा समाज कल्याण परिषद्का सहायक निर्देशक सुष्मा खड्का, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, विभिन्न संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*