प्रदेश ३ मा संविधान दिवस मनाउन उपसमिति गठन

हेटौडा न्युज
१७ भाद्र २०७६, मंगलवार ०३:०५
;

आगामी आश्विन ३ गतेको संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ । आज सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मूल समारोह समिति समेत गठन गरिएको छ भने संबिधान दिवस मनाउनका लागि प्रदेशका मन्त्रीहरुलाई विभिन्न उपसमिति संयोजकको जिम्मेवारी दिईएको छ । 
दिवसलाई व्यवस्थित बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्री युबराज दुलालको संयोजकत्वमा रचनात्मक क्रियाकलाप व्यबस्थापन उपसमिति, प्रदेश ३ का मुख्य न्यायधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठि उपसमिति, जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, मकवानपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

संविधान दिवसमा सरसफाइ, परिसम्वाद, खेलकुद, दीपावली, हर्षबढाई प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, बृक्षारोपण, रक्तदान, मकवानपुरगढीमा नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा मुख्यदिन वृहत कार्यक्रम गरिने भएको छ ।
आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस कर्मकाण्डी मात्र नभई प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड अनुसार काम सम्पन्न गर्न निर्देशन दिएका छन् । संविधान दिवस भनेको इतिहास हो यसलाई झल्काउने गरि मनाउने उनको भनाइ थियो । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गरेका छन् ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाल, मुख्य न्यायधिवक्ता ओम थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईलगायतको सहभागिता रहेको थियो । संघीय सरकारले पनि यस पटकको संविधान दिवसलाई राष्ट्रिय झण्डामय बनाउने बताईसकेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*