हेटौँडा अस्पतालबाट मेटियो ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’

मकवानपुर/हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नमिल्ने भन्दै आन्दोलन गर्दै आएको हेटौँडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले हेटौँडा अस्पतालको बोर्ड परिवर्तन गरेका छन् ।
आइतबार बिहान अस्पताल परिसरमा पुगेका समितिमा आवद्ध युवाहरूले अस्पतालमा रहेको बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मेटाएका छन् । उनीहरूले त्यस स्थानमा ‘हेटौँडा अस्पताल’ लेखिएको व्यानर समेत टाँसेका छन् ।
उनीहरूले नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै दल निकट प्रतिष्ठानको मातहत हुन नहुने बताउँदै आएका छन् ।
स्वार्थ समूहको कार्यको भर्त्सना गर्छौः प्रतिष्ठान
यसैबीच मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘अस्पतालको साइन बोर्डमा अराजक समूहद्वारा तोडफोड, केरमेट गरिएको’ भन्दै भर्त्सना गरेको छ ।
अस्पताल सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रार भिम सागर गुरागाईँ र प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा. दिनेश कुमार लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै सो कार्यले अस्पतालका बिरामी तथा स्वास्थ्यकर्मीहरूमा समेत त्रास, अन्योल र असुरक्षा उत्पन्न गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा घटनाका दोषीहरूलाई तत्काल छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।