ज्ञानोदय बालवाटिका आवासीय माविमा शिक्षक तालिम सम्पन्न

मकवानपुर/हेटौँडा ५, पिप्लेमा रहेको ज्ञानोदय बालवाटिका आवासीय माविमा शिक्षकहरूका लागि तीन दिवसीय तालिम कार्यक्रम सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको तालिममा विभिन्न ६ वटा संस्थागत विद्यालयका ५० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो ।
पूर्व प्राथमिक तहका शिक्षकहरूका लागि आयोजित तालिममा कक्षाकोठामा बालबालिकाको सिकाइ क्षमता अभिवृद्धि तथा सिप विकासका बारेमा जानकारी गराइएको थियो । यस्तै पूर्व प्राथमिक तहमा सरकारले तोकेका मापदण्ड, विद्यालय व्यवस्थापन, अभिभावक शिक्षा एवम् कक्षाकोठा व्यवस्थापनका सीपबारे प्रशिक्षित गरिएको तालिम संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिए ।
किड्स गार्डेन एजुकेसनल ट्रेनिङ सेन्टर काठमाडौँ र रिसर्च प्रालि काठमाडौँसँगको सहकार्यमा तालिमको आयोजना गरिएको हो । कार्यक्रममा आयोजक विद्यालयसहित हेटौँडा उपमहानगरपालिकाका लोटस एकेडेमी, शिक्षा विकास शिशु सदन, जेम्स इङ्गलिस स्कुल, मकवानपुर बाल विद्या सदन र प्रज्ज्वल शिक्षा सदनका शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण प्रशिक्षकहरू मुना दाहाल र सचिता सुवालले गरेका थिए ।