मानसिक स्वास्थ्यका ‘म्युजिक फर कज’

मकवानपुर/मानसिक स्वास्थ्यका विषयमा सङ्गीतका माध्यमबाट सचेतना फैलाउन हेटौँडामा ‘म्युजिक फर कज’ कार्यक्रम हुने भएको छ । झन्डै एक सय वाद्यवादकहरूले एकसाथ प्रस्तुति दिने गरी आगामी शनिबार कार्यक्रम हुने भएको हो ।
कार्यक्रमका बारेमा जानकारी गराउन मङ्गलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा सामाजिक सेवाको भावनाले कार्यक्रम आयोजना गरिएको बताइएको छ । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रम हुन लागेको हो ।
गीत सङ्गीत आफैँमा एक किसिमको थेरापि भएको भन्दै बम्जनले यस कार्यक्रममार्फत मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउन बल पुग्ने दाबी गरे । कार्यक्रमबाट पैसा कमाउने उद्देश्य नरहेको भन्दै उनले बचेको रकम हेटौंडा १५ मा रहेको बृद्धाश्रमलाई सहयोग गरिने जानकारी दिए ।
कार्यक्रममा मकवानपुरसहित ओखलढुंगा, चितवन, काठमाडौं लगायतका जिल्लाबाट समेत वाद्यवादकहरूले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा सहभागी हुन चाहनेका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको बम्जनले जानकारी दिए ।