शनिबार रचनालाई साथ दिँदै र्यापर फ्लो पाइलट

मकवानपुर/हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ मा शनिबार चर्चित गायिका रचना रिमालले आफ्नो गायकी प्रस्तुत गर्ने भएकि छिन् । फागुन ६ गतेदेखि चलिरहेको मेलाको सकिनुअघि आयोजकले गायिका रिमाललाई हेटौँडाका दर्शकमाझ प्रस्तुत गर्ने भएको हो ।
रिमालसँगै र्यापर फ्लो पाइलटको उपस्थितिले युवा दर्शकलाई अझ बढी आकर्षित गर्ने महोत्सवका व्यवस्थापक अनित विष्टले दाबी गरे । रिमाल र पाइलटका अलावा शनिबारको आकर्षणका रुपमा लोकदोहोरी गायक भोजराज काफ्ले, बैकुण्ठ महत, गणेश केसी, आशा लामा र रन्जिता पाण्डेले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन् ।
महोत्सव अन्तरगत शनिबार अन्तिम सार्वजनिक बिदाको दिन रहेकाले पनि दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ । हेटौँडा १०, टिसिएन चौरमा जारी मेला आइतबार समापन हुँदैछ । महोत्सव निर्माण व्यवसायी सङ्घ मकवानपुर र औद्योगिक शान्ति संस्था नेपालले आयोजना गरेको हो ।