कानुन बमोजिम चलेका व्यवसायीले अप्ठ्यारो मान्नु पर्दैनः प्रजिअ श्रेष्ठ

हेटौडा न्युज
१६ फाल्गुन २०८१, शुक्रबार २२:०६
;

मकवानपुर/मकवानपुर उद्योग वाणिज्य सङ्घले जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई शुक्रबार स्वागत गरेको छ ।

सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटसहितका पदाधिकारी तथा पूर्व अध्यक्षहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको स्वागत सहित छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

स्वागत छलफल कार्यक्रममा व्यवसायीहरूले आफूहरूले झेल्नुपरेका कानुनी व्यवधानहरू तथा अन्य व्यवसायिक समस्याहरूका बारेमा गुनासो गरेका थिए । व्यवसायीहरूका गुनासोको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कानुन बमोजिम सञ्चालित व्यवसायले कहिल्यै अप्ठ्यारो मान्नु नपर्ने बताएकि छिन् । कानुन मिचेर सञ्चालित व्यवसायीका बारेमा लचकता अपनाउन नसकिने सङ्केत गर्दै उनले कानुन बमोजिम चलेका व्यवसायीका लागि प्रशासनको तर्फबाट सधैँ सहयोग र सहकार्य रहने उल्लेख गरिन् ।

राजस्व तथा बजार अनुगमनको विषय राज्य र व्यवसायीहरूको साझा सवाल भएको भन्दै प्रजिअ श्रेष्ठले भनिन्, ‘बजार अनुगमन भन्ने कुरा व्यवसायीलाई पहिले नै जानकारी दिएर गरिने विषय होइन । त्यसले सकारात्मक परिणाम दिँदैन ।’

बजार क्षेत्रमा भइरहेका चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणका लागि प्रविधिको प्रयोगमा केन्द्रीत हुने पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताएकि छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*