वरिष्ठ कराँते प्रशिक्षक श्रेष्ठको निधन
मकवानपुर/राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको सवारी दुर्घटनामा परि निधन भएको छ । शनिबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरीमा भएको दुर्घटनामा सितोरियो कराँतेका प्रशिक्षक श्रेष्ठको निधन भएको हो ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेका श्रेष्ठले चलाएको बा १६ च ८३२४ नम्बरको कार मनहरी ६ मा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियोसँग ठोक्किएको थियो । घटना लगत्तै उपचारका लागि भरतपुर लगिएका उनको उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक श्रेष्ठले मधेस प्रदेशको तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकको रुपमा समेत काम गरिसकेका थिए । उनी एशियाली कराँते महासंघको निर्णायक तथा विश्व कराँते महासंघका प्रशिक्षक समेत थिए ।
श्रेष्ठको निधनमा खेलसम्बद्ध विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले कराते समुदायमा उनको अमूल्य योगदान र नेतृत्व सदैव स्मरणीय रहने भन्दै आइतबार हुने नियमित सत्रमा सबै डोजोलाई मौनधारण गर्न र प्रशिक्षण गतिविधिहरू नगर्न अनुरोध गरेका छन् ।