अमेरिकाको लस एन्जलसमा फैलिएको आगो अझै नियन्त्रणबाहिर
अमेरिकाको लस एन्जलसका जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागीमा परि हालसम्म कम्तिमा ११ जनाको ज्यान गएको छ भने सयौं भवन जलेका छन् ।
बीबीसीका अनुसार आगलागी प्रभावित क्षेत्रबाट करिब दुई लाख मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ ।
स्थल तथा हवाइमार्गबाट समेत आगलागी नियन्त्रणमा लिन प्रयास गरिए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । मौसमी अवस्था र जलवायु परिवर्तनको असरका कारण आगामी दिनमा यो आगलागी अझै बढ्ने अनुमान गरिएको छ ।
अमेरिकी सरकारले लस एन्जलस काउन्टीमा बसोबास गर्ने करिब १ लाख ७९ हजार मानिसहरूलाई आफ्नो घर छाड्न भनेको छ ।
सो क्षेत्रमा मात्रै कम्तीमा सात जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
यसैबीच हलिउड हिल्स क्षेत्रमा फैलिएको आगलागी कम हुन थाले पनि पूर्णरुपमा नियन्त्रण हुन नसकेको पछिल्लो विवरणहरूमा उल्लेख छ । हलिउड हिल्स क्षेत्रमा ५ हजार ३ सयभन्दा बढी भवन ध्वस्त भएका छन् । यसमा प्रतिष्ठित सनसेट बुलेभार्डमा अवस्थित घरहरू, विद्यालयहरू र व्यावसायिक भवनहरू समावेश छन् ।
यस आगलागीमा घर गुमाएका सेलिब्रेटीहरूमा केही दिनअघि गोल्डेन ग्लोब अवार्डमा सहभागी भएका लेइटन मिस्टर र एडम ब्रोडीका साथै पेरिस हिल्टन पनि छन् ।
अमेरिकी बीमा उद्योगका लागि यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलो साबित हुने डर छ किनभने आगोले ढाकिएको सम्पत्तिको मूल्यांकन धेरै उच्च रहेको छ । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब आठ अर्ब डलर बराबरको बिमाधनको क्षति हुने सम्भावना छ ।
विश्लेषकहरूले लस एन्जलसमा आगो फैलनुमा मुख्य तीनवटा कारणलाई जिम्मेवार ठहर्याएका छन्- सुख्खा मौसम, जलवायु परिवर्तन र सेन्टा एना वायुको प्रभाव । सुख्खा मौसममा आएको तीव्र हावाका कारण आगो चाँडै फैलिएको उनीहरूले औँल्याएका छन् । यद्यपि पछिल्लो आगलागी कसरी सुरु भयो भन्ने बारेमा अधिकारीहरूले ठोस निष्कर्ष निकालेका छैनन् ।
जमीनबाट समुद्री किनारतर्फ करीब एक सय किलोमिटर प्रतिघन्टाको गतिमा चलेको हावाले आगलागी फैलनमा थप बल पुर्याएको विश्लेषकहरूको दाबी छ ।
(बिबिसी न्युजबाट)