राष्ट्रिय कविता प्रतियोगितामा कास्कीका बस्याल प्रथम

हेटौडा न्युज
६ पुष २०८१, शनिबार १९:२०
;

मकवानपुर/हेटौँडामा सम्पन्न राष्ट्रिय युवा कविता उत्सव – २०८१ मा कास्कीका कवि संयोग बस्याल प्रथम भएका छन् । ‘सावधान’ शीर्षकको कविता सुनाएका उनले नगद ४० हजारसँगै प्रमाणपत्र प्राप्त गरेका छन् ।

बागमती प्रदेश युवा परिषद्को आयोजना तथा साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा शनिबार भएको प्रतियोगितामा कास्कीकै सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कविता दोस्रो हुँदा उदयपुरकी सुमी पोखरेलको ‘समयदर्शक यन्त्रको पर्दा नियाल्दा’ तेस्रो तथा बझाङका महेश कठायतको ‘देश’ कविता सान्त्वना घोषित भयो । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कविता उत्सवका लागि देशभरबाट प्राप्त २२३ कविताहरूमध्ये उत्कृष्ट २० कविता सो अवसरमा प्रस्तुत भएका थिए । कविहरू भीष्म उप्रेती, आरएम डङ्गोल र टीका आत्रेय प्रतियोगिताको निर्णायकका रुपमा रहेका थिए ।

सो अवसरमा कवि तथा निबन्धकार मोमिलाले आफ्ना उत्कृष्ट १० कविताहरू सुनाएकी थिइन् ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरूलाई सिर्जनशील बाटोमा लैजाने हरेक कार्यक्रममा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले साहित्यका माध्यमबाट समाज परिवर्तन गर्न सकिने धारणा राखे । साहित्य सिर्जनामा लागेरै पनि युवाहरूले परिवर्तनका लागि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*