‘मेगा विद्यालय’ बन्ने बाटोमा आधुनिक र भुटनदेवी
मकवानपुर/हेटौँडाका दुई ठूला विद्यालयहरूलाई गाभेर ‘मेगा विद्यालय’ बनाउन यहाँका आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयले औपचारिक पहल सुरु गरेका छन् । हेटौँडा ४ मा रहेका दुवै विद्यालयका व्यवस्थापन समितिले मेगा विद्यालय बनाउनका लागि पहल गरिदिन अनुरोध गर्दै मंगलबार नगरप्रमुख मिनाकुमारी लामालाई पत्र बुझाएका छन् ।
आधुनिक र भुटनदेवीका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलसहितको टोलीले नगरप्रमुखलाई अनुरोध पत्र बुझाएका हुन् । ‘मेगा विद्यालय’ बनाउने अवधारणालाई अब नगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेमा यसले कानुनी रुपमा मार्ग प्रशस्त गर्नेछ । उपमहानगरपालिका शिक्षा विकास महाशाखाका वरिष्ठ विद्यालय नीरिक्षक हरिचन्द्र सापकोटाले दुवै विद्यालयबाट औपचारिक रुपमा ‘मेगा विद्यालय’ बनाउने आधिकारिक निर्णयसहित सहजीकरणका लागि अनुरोध भई आएको जानकारी दिए ।
के हो ‘मेगा विद्यालय’ ?
हाल माध्यमिक तहसम्मका विद्यालय संरचना स्थानीय सरकार मातहत रहेको अवस्थामा हेटौँडामा अघि सारिएको ‘मेगा विद्यालय’ संघीय विद्यालयको रुपमा रहनेछ । यसका लागि गाभिन तयार दुवै विद्यालयका भौतिक संरचनाका साथै शैक्षिक र प्रशासनिक संयन्त्र एकीकृत हुनेछन् ।
साधारण विद्यालयमा प्रधानाध्यापक कार्यकारी हुने तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको स्रोत साधनको व्यवस्थापन गर्ने गरिएको छ । तर प्रस्तावित मेगा विद्यालयको हकमा यी दुवै संरचनाभन्दा माथि ‘बोर्ड अफ ट्रष्टी’ रहने छ । यस्तै कार्यकारी अधिकारप्राप्त प्रमुख प्रशासकीय अधिकृत (सिईओ) रहने छन् ।
आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाइँका अनुसार ‘मेगा विद्यालय’को अवधारणामा अघि बढ्नका लागि दुवै विद्यालयका व्यवस्थापन समितिबाट निर्णय भइसकेर समन्वयका लागि स्थानीय सरकारलाई अनुरोध गरिएको हो ।
कसरी बन्छ ‘मेगा विद्यालय’ ?
दुवै विद्यालयले औपचारिक रुपमा अनुरोध गरिसकेपछि यसबारे सबैभन्दा पहिले उपमहानगरपालिकाको कार्यपालिकाले निर्णय गर्छ । कार्यपालिकाबाट अनुमोदन भएको खण्डमा ‘मेगा विद्यालय’ सन्चालनको कार्यविधि तयार गर्नका लागि एक प्राविधिक समिति गठन हुन्छ जसको संयोजक र उपसंयोजकमा स्वयम् नगरप्रमुख र उपप्रमुख रहनेछन् । स्थानीय सरकारबाट सो कार्यविधि पारित भएपछि संघीय सरकारको मन्त्रीपरिषद्बाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको गुरागाइँले बताए ।
‘मेगा विद्यालय’प्रतिको उत्साह
हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देल आफ्नो वडामा रहेका विद्यालयहरूले गाभेर ‘मेगा विद्यालय’ बनाउन उत्साही छन् । पर्खाल जोडिएर पनि लामो समयदेखि छुट्टाछुट्टै अस्तित्वमा रहेका दुई विद्यालयलाई एउटै बनाउँदा समुदाय नै थप लाभान्वित हुने उनको भनाइ छ । उनी भन्छन्, ‘त्यसो हुन सक्यो भने स्रोत र साधनको पूर्ण रुपमा उपभोग हुनसक्छ ।’
हेटौँडालाई ‘शैक्षिक हब’का रुपमा विकास गर्नुपर्ने भन्दै सिग्देलले ‘मेगा विद्यालय’को अवधारणामा स्थानीयसँगै प्रदेश र केन्द्र सरकारको समेत ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । प्रदेश विश्वविद्यालय बन्दै गरेको अवस्थामा त्यसको बलियो आधारका लागि पनि ‘मेगा विद्यालय’ अपरिहार्य हुने उनको तर्क छ ।
कसरी होला स्रोत साधनको व्यवस्थापन ?
कक्षा १२ सम्म पढाइ हुने विद्यालयहरूमध्ये आधुनिकमा मात्रै हाल ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक संरचनाले विद्यार्थीको चापलाई थेग्न मुस्किल भइरहेको छ । अर्कोतर्फ नगरकै सम्पन्न विद्यालयको रुपमा चिनिएको भुटनदेवीमा झन्डै २५ सय विद्यार्थी छन् ।
प्रधानाध्यापक गुरागाइँका अनुसार यो अवधारणाले मूर्तरुप लिएसँगै हाल भुटनदेवी मावि रहेको संरचनालाई पूर्णरुपमा प्राविधिक धारमा विकास गरिने छ । यस्तै साधारण धारको पठनपाठनका लागि आधुनिकतर्फका भौतिक संरचना प्रयोगमा ल्याउने गरी दुवै विद्यालयले आन्तरिक तयारी थालिसकेका छन् ।
‘मेगा विद्यालय बनेको ५ वर्षभित्रमा १० हजार विद्यार्थीलाई अध्यापन गराउने लक्ष्य लिएका छौँ’, गुरागाइँले भने ।