बागमती प्रदेश लिग फुटबल पुस १० बाट

हेटौडा न्युज
२ पुष २०८१, मंगलवार १४:२८
;

मकवानपुर/बागमती प्रदेश फुटबल संघको आयोजनामा दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेदेखि हेटौँडामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार सञ्‍चालन हुने प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका लिग विजेता टोलीहरूबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेश फुटबल संघका कार्यवाहक अध्यक्ष राजीव बस्‍नेतले एन्फा, बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए । प्रदेशका १३ मध्ये रसुवा र रामेछाप एन्फामा आवद्ध नभएका कारण ती जिल्लाका टोली प्रतियोगितामा सहभागी नहुने बताइएको छ ।

प्रदेश भित्रका खेल प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसका लागि करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद २ लाख तथा १ लाखका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार, विधागत उत्कृष्टले १० हजार तथा हरेको खेलको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सहभागी ११ जिल्ला लिग विजेता टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा चित्लाङ फुटबल क्लब काठमाडौं, माउन्ट एभरेष्ट काभ्रेपलाञ्‍चोक र बीएफसी क्लब चितवन रहेका छन् । यस्तै समूह ‘बी’मा थिमी युथ क्लब भक्तपुर, ब्लु अल्पाइन क्लब सिन्धुली र चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक छन् भने समूह ‘सी’मा धुनिबेसी युथ क्लब धादिङ, ललितपुर र पदमपोखरी युथ क्लब मकवानपुर रहेका छन् । दुईवटा टीममात्र रहेको समूह ‘डी’बाट सेमिफाइनल प्रवेशका लागि बट्टार युथ क्लब नुवाकोट र टाइगर टीम दोलखाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*