सुदूरपश्चिमको पहिलो हार, जनकपुर लिगको शीर्ष स्थानमा कायमै
मकवानपुर/नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पहिलोपटक हारको सामना गरेको छ । आइतबार भएको दोस्रो खेलमा चितवन राइनोजले रोयल्सलाई ३३ रनले हरायो । जनकपुर बोल्टस्ले भने आफ्नो अपराजित यात्रा कायमै राखेको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सलाई अत्यन्तै रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै बोल्ट्स्ले आफूलाई शीर्ष स्थानमा कायमै राखेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । राइनोजका लागि हसन इसाखिलले अर्धशतक पूरा गरे । उनले ५२ बलमा ६५ रन बनाउँदै प्लेयर अफ द म्याच समेत बन्न सफल भए । सुदूरपश्चिम रोयल्सका लागि स्कट कुगलिनले २ विकेट लिए भने ब्रान्डन म्याकमुलन, दीपेन्द्र सिंह ऐरी र साइफ जाएबले १-१ विकेट लिन सफल भए ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका कप्तान ऐरीले मात्र १ रन बनाएर दोस्रो बलमै आउट भएपछि चितवन राइनोजका लागि जीत सहज बनेको थियो । इशान पान्डेले सर्वाधिक ३५ रन जोडेको रोयल्सका अन्य खेलाडीले खासै रन बटुल्न सकेनन् । १८ दशमलव २ ओभरमा अलआउट हुँदै सुदूरपश्चिमले केवल १ सय ३१ रन जोड्न सक्यो । बलिङतर्फ राइनोजका लागि रिजन ढकाल, कप्तान कुशल मल्ल, लोफ्टी इटन र अमर रौतेलाले समान २-२ विकेट लिँदै रोयल्सलाई अप्ठ्यारोमा पारेका थिए । सोहेल तनवीर र रन्जित कुमारले पनि रोयल्सका १-१ खेलाडीलाई पवेलियन पठाए ।
यसअघि आइतबारको पहिलो खेलमा अंकतालिकामा पुछारमा रहेको लुम्बिनी लायन्सलाई शीर्ष स्थानको जनकपुर बोल्टले चौथो खेलमा पनि निराश बनायो । राष्ट्रिय टोलिका कप्तान रोहित यसपटक जीतको नजिक पुगेर पनि १ रनको झिनो हार सामना गर्न बाध्य भए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले कप्तान अनिल साहको ४५ रनको मदतमा लुम्बिनीलाई १ सय ३७ रनको मध्यम लक्ष्य दिएको थियो । अभिषेक गौतमको ३ तथा साद बिन जाफर र कप्तान पौडेलको २-२ विकेटको मदतमा औसत लक्ष्य पाएको लुम्बिनीलाई भाग्यले साथ दिएन । कप्तान पौडेलले अलराउन्ड प्रदर्शन गर्दै ब्याटिङतर्फ ३५ रन बनाए पनि अन्य खेलाडीको ब्याट खासै चल्न नसकेपछि २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनमा समेटियो ।