हेटौंडा बसपार्कमा घरेलु उत्पादनको प्रदर्शनी हुने
मकवानपुर । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–१० को आयोजनामा आउँदो पौष २ र ३ गते हेटौंडा बसपार्कमा घरेलु उत्पादनको प्रदर्शनी हुने भएको छ । उपमहानगरका सबै १९ वटै वडाहरुका किसान, घरेलु सामग्री उत्पादक उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार सृजनालाई सहयोग पुर्याउने प्रदर्शनीको मूल उद्देश्य रहेको वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिएका छन् । २ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा स्थानीय भाषा, संस्कृति झल्किने नृत्य प्रतियोगिता पनि हुने भएको छ । नृत्य प्रतियोगितामा विजयी कलाकार वा समूहलाई प्रथमलाई ५० हजार, द्वितीयलाई ३५ हजार, तेश्रोलाई २० हजार र सान्त्वना हुने ४ जनालाई ४ हजार रुपैया तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
निशुल्क ३० वटा स्टल रहने प्रदर्शनी स्थलमा हेटौंडा उपमहानगरको टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति, उद्योग वाणिज्य संघ, महिला उद्यमी, आमा समूहहरुको सहकार्य रहेको छ । कार्यक्रमका लागि वडा कार्यालयको ५ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।