महिलाको हातमा पञ्चे बाजा
मकवानपुर । एक जमाना थियो ‘महिलाले बाजा बजाउनु त के छोए पनि पाप लाग्छ’ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । तर अहिले समय फेरिएको छ । विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाइने पञ्चे बाजा बजाउन महिलालाई तालिम नै दिइन थालिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले महिला लक्षित कार्यक्रम अनुसार आफ्नो वडाको २५ जना महिला समूहलाई पञ्चे बाजा बजाउने तालिम शुरु गरेको छ ।
सबै जातजाति, धर्म, वर्गले जुनसुकै पेशा व्यवसाय गर्न हुन्छ भन्ने मान्यताका साथ महिलालाई आम्दानीसंग जोडेर नेपाली धार्मिक एबम् सँस्कृतिको समेत जगेर्ना गर्न तालिमको आयोजना गरिएको हेटौंडा उपमहानगर वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने बताएका छन् ।
तामिमबाट प्रशिक्षित भइसकेपछि यही समूहले अन्य महिलाहरुलाई तालिम दिने गरी व्यवस्था मिलाईएको उपमहानगरको भनाई छ । पछिल्लो समय पञ्चे बाजा नै लोप हुने अवस्थामा पुगिसकेको छ । बाजा बजाउन जान्नेहरुकै कमि हुन लागेकाले परम्परागत संस्कति जोगाउँदै आयआर्जन समेत हुने भएकाले तालिम दिन लागिएको हेटौंडा उपमहानगरकी प्रमुख मिना लामाले बताएकी छिन् ।
हिजोआज आधुनिकता भित्रिएपछि परम्परागत बाजागाजा प्रायः लोप हुने अवस्थामा पुगिसकेको छ । यूवापुस्ता समेत आफ्ना परम्परागत संस्कृति प्रति आकर्षण नहुँदा जगेर्ना नै गर्नुपर्ने अवस्थामा पुगिसकेको छ ।