मकवानपुर गोल्डकप : आज सातदोबाटो क्लब र नेपाल एपिएफ बीच खेल हुने
हेटौंडा । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगितामा आज सातदोबाटो क्लब ललितपुर र नेपाल एपिएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार ३ बजेबाट खेल सुरु हुने आयोजकले जानकारी दिएका छन् । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा नव जनजागृती युवा क्लब सिमरालाई २-० गोल अन्तरले हराउँदै मकवानपुर-११ अन्तिम आठमा प्रवेश गरेको छ । मकवानपुरकोे जितमा प्रितम स्याङ्बोले १२औँ र फागुराम चौधरीले ३९औँ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।
प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।