गठबन्धनको एकमात्र उद्देश्य एमालेको विरुद्ध: पोखरेल

मकवानपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको एकमात्र उद्देश्य एमालेको विरुद्धमा केन्द्रीत हुनु रहेको बताएका छन् ।
ओखलढुङ्गा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले एमालेलाई कमजोर बनाउने उद्देश्यसहितको एकसुत्रिय एजेण्डा बोकेर गठबन्धन हिँडेको बताए । गठबन्धनको यो उद्देश्य विफल पार्नका लागि एमाले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।
उनले स्थानीय तहको निर्वाचन गठबन्धनले टार्न खोजेपनि एमालेको दबाबका कारण वैशाख ३० को मिति तय भएको बताए । स्थानीय निर्वाचनमा दुई ध्रुवमा बाँडिएको राजनीतिमा एमालेलाई बलियो बनाउनुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा नेताहरुले आँखा झिम्क्याएको भरमा टिकट नपाइने उल्लेख गर्दै पार्टीलाई कमजोर बनाउने गरी अगाडि नबढ्न आग्रह गरे ।