काङ्ग्रेस बागमती प्रदेशको अधिवेशन आज

मकवानपुर । नेपाली काङ्ग्रेस बागमती प्रदेशको अधिवेशन उद्घाटन हेटौंडामा हुने भएको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनको भर्चुअल मार्फत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए ।
कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहीबार बिहान ११ बजे हुने बताइएको छ । बागमती प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।