सत्तारुढ गठबन्धनका नेताहरु बीच दिनहुँ छलफल

मकवानपुर । प्रधानमन्त्री शेरवहादुर देउवाले धमाधम नियुक्ति र सरुवा गर्न थालेपछि सत्तारुढ गठबन्धनमा खटपट शुरु भएको छ ।
यसबीचमा देउवाले आफ्नो दूतका रुपमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख विपक्षी नेता केपी ओली भेट्न पठाएपछि प्रचण्ड र माधव नेपाल झस्किएका छन् । सत्ता गठबन्धनका मुख्य शीर्ष नेता देउवा, प्रचण्ड र माधव नेपालबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । शुक्रवार पनि शीर्ष नेताहरुको बैठक बसेको थियो । मन्त्रालय बाँडफाँटमै समस्या आएकाले नेताहरु छलफलमा छन् ।
भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय सकिएपछि अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत छन् । यसबीचमा मन्त्रालय भागबण्डा टुंगो लगाउने, बजेटमा सहमति जुटाउने र एमसीसीको सन्दर्भमा समेत सत्ता गठबन्धनको साझा धारणा बनाउने गरि नेताहरुबीच छलफल चलिरहेको कांग्रेस महामन्त्री पूर्णवहादुर खड्काले बताए । तर पशुपति विकास कोष, योजना आयोग लगायतका नियुक्तिमा समेत सत्ता गठबन्धनका अन्य नेताले आपत्ति जनाएका छन् ।