गठबन्धनद्वारा सभामुखलाई दिईएको अभिव्यक्तिको विरोध

मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारूढ गठबन्धनले विरोध गरेको छ ।
सोमबार संयुक्त प्रेस विज्ञप्ति निकालेर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमख सचेतक देवप्रसाद गुरूङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले एमालेले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा विरोध गरेका छन् ।
संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी सभामुखलाई भदौ ३ र ४ मा एमाले सांसदहरूले संघीय संसद सचिवालय सिंहदरबारमा र अध्यक्ष ओलीले मिडियामार्फत् अभिव्यक्ति दिएकोमा सत्ता गठबन्धनले आपत्ति जनाएका हुन् ।उनीहरूले एमालेलाई संवैधानिक मर्यादाको अबलम्वन गर्न पनि आग्रह गरेका छन् ।