नेपाली काङ्ग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित

हेटौडा न्युज
९ श्रावण २०७८, शनिबार १३:३३
;

मकवानपुर । साउन १२ गते हुने भनिएको नेपाली काङ्ग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।

आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताए । काङ्ग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ ।

तर सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल शुरु भएको छ । आजको पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।

पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*