नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक जारी

मकवानपुर । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको १०औं केन्द्रीय कमिटीको आजको बैठक बसिरहेको छ ।
नेकपा एमालेको १०औं केन्द्रीय कमिटीका बसिरहेको बैठक हिजोकै निरन्तर बैठक हो । आजको बैठकमा एमाले एकताका लागि गठित तत्कालीन कार्यदलले तयार पारेको १० बुँदे सहमति सदस्यहरूलाई बाँडिएको छ ।
कार्यदलका तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सो सहमति कार्यान्वयनमा इमान्दार हुनुपर्नेमा जोड दिएका छन् । एमालेले पार्टीको आन्तरिक समस्या समाधानको लागि गरेको १० बुँदे सहमतिलाई अनुमोदन गरिसकेको छ । बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने माधवकुमार नेपालसहितका २२ सांसदलाई कारवाहीको थप प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ ।
एमालेले उनीहरूलाई अनुशासनको कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने हिजै निर्णय गरिसकेको छ । जारी बैठकमा प्रदेशको पार्टी अवस्थाबारे सम्बन्धित नेताहरूले जानकारी गराउने, सर्वोच्चको फैसलाप्रति पार्टीको दृष्टिकोण, ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा गर्ने साथै आगामी दिनमा राजनीतिक र सांगठानिक काममा पार्टीको भूमिकाबारे पनि छलफलको मुख्य एजेण्डा छ ।