बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ बजेट बहुमतले पास भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले प्रस्तुत गरेको प्रदेश सरकारको अर्थसम्बन्धी कार्यान्वयन गर्न बनेको विधेयक २०७८ बहुमतले पास भएको हो । ढुंगेलले पेस गरेको बजेट नेकपा एमालेका दुवै पक्षको समर्थनमा पास भएको हो ।
मन्त्री ढुंगेलले प्रदेश सरकारका तर्फबाट क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेका थिए ।
बजेटबाट चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएका छ ।
बजेट पास गर्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, विपक्षी कांग्रेससहित सबै दल सदनबाट निस्केका थिए ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।