प्रदेश २ द्वारा ३ वर्षभित्र संघीय सरकारविरुद्ध ६ वटा मुद्दा दायर

धनुषा । प्रदेश २ को सरकार गठन भएको आज ३ वर्ष पूरा भएको छ । यस अवधिमा प्रदेश सरकारले संघीय सरकार विरुद्ध ६ वटा मुद्दा दायर गरेको जनाएको छ ।
संविधान प्रदेशलाई दिएको प्रद्धत्त अधिकारलाई कुण्ठित गरेको भन्दै सर्लाहीको सागरनाथ वन विकास परियोजना, सिंचाई आयोजना, नेपाल प्रहरी र निजामति कर्मचारी समायोजनको विषयमा ६ वटा मुद्दा संघीय सरकारको विरुद्धमा दायर गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।
आज ३ बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले विभिन्न शीर्षकमा ९३ बुँदे प्रदेश सरकारका उपलब्धि सार्वजनिक गरेका थिए । उनले ३ बर्षको अवधिमा प्रदेश सरकारबाट ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ सञ्चालन गरिएको , ‘एक शहीद परिवार, एक रोजगारी’, सबै निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका कामहरु प्रदेश सरकारले गरिरहेको बताएका छन् ।