बागमतीको कृषि मन्त्रालयमा मिलेमतोः नियमविपरित लाखौ रकम भुक्तानी

मकवानपुर । बागमती प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कानून विपरित लाखौं रकम ठेकेदार कम्पनीलाई भुक्तानी गरेको भेटिएको छ । मन्त्रालयले लागत साझेदारीमा शीत भण्डार बनाइदिने सम्झौता बमोजिम भन्दा बढी रकम कमिशनको लोभमा भुक्तानी दिएको पाईएको हो ।
धादिङ र चितवनका लागि २२ करोड ८१ लाखको लागतमा एकहजार पाँच सय मेट्रिक टन स्टोर क्षमताका दुईवटा शीतभण्डार निर्माण गर्न मन्त्रालयले ७० प्रतिशत र ३० प्रतिशत कृषि सहकारी संस्थाले व्यहोर्ने गरी गत २०७५ असार ३० गते सम्झौता गरिएको थियो । सम्झौता अनुसार खैरहनी ६ को साना किसान कृषि सहकारी संस्थालाई तीन करोड ४० लाख र कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था धादिङ बेनीघाटले तीन करोड ३७ लाख रुपैयाँ लगानी गर्नुपर्ने थियो ।
इजि इन्फ्रा प्रालि काठमाडौँलाई २०७७ पौष मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने गरी निर्माणको जिम्मा दिइएको थियो । ठेकेदार कम्पनीलाई भने मन्त्रालयका सचिव, फिल्डका इन्जिनियर र लेखा शाखाका कर्मचारीले निर्माण कम्पनीसँग कमिशनको लोभमा सम्झौताभन्दा बढी ९० प्रतिशत रकम भुक्तानी दिएको सार्वजनिक भएको छ । जब कि मन्त्रालय आफैले गरेको सम्झौता र कार्य विधिमा ७० प्रतिशत मात्रै भुक्तानी गर्ने उल्लेख छ ।
तर त्यति रकम सहकारीले जुटाउन नसक्ने भन्दै मन्त्रालयलाई पटकपटक जानकारी दिएको कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्था लिका हेमनाथ थपलियाले बताएका छन् । यता, मन्त्रालयकी सचिव मतिना बैद्य जोशीले बढी गएको रकम फिर्ता गरेर सरकारी खातामा ल्याउन ताकेताका लागि प्रकृया अघि बढेको दाबी गरेकी छिन् ।
सञ्चारकर्मी बालकृष्ण अधिकारीको सहयोगमा ।