कांग्रेसले संसद विघटनविरुद्ध प्रदर्शन गर्दै

हेटौडा न्युज
२५ पुष २०७७, शनिबार १२:५६
;

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले प्रर्दशनका कार्यक्रमलाई तिव्रता दिएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै सडक संघर्षमा उत्रिएको नेपाली कांग्रेसले देशभरका ३ सय ३० वटा निर्वाचन क्षेत्रमा प्रर्दशन गर्ने भएको हो ।

कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत शनिबार (आज) देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्ने भएको हो ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुने जनाइएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठको विरोध कार्यक्रममा सहभागी हुनेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा सहभागी हुनेछन् ।

कांग्रेसको पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा सम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै कांगैस मकवानपुरले मकवानपुरको ४ वटा स्थानमा प्रर्दशन गर्ने तयारी गरेको छ । कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ अन्तर्गत छतिवनमा, १ को प्रदेश सभा ‘ख’ अन्तर्गत हेटौंडाको बुद्धचोकमा प्रर्दशन गर्दैछ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ‘ख’ अन्तर्गत मनहरी बजारमा विरोधसभा आयोजना गर्दैछ ।

हेटौंडामा हुने विरोधसभालाई कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति एवम् बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाले चारै स्थानमा हुने विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन कांग्रेसका नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।

मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर विरोध प्रदर्शन तथा सभा सम्मेलनको आयोजना गर्दैै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*