प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार छैन : सभामुख

हेटौडा न्युज
१६ पुष २०७७, बिहीबार १४:३३
;

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार नभएको बताएका छन् । उनले अहिलेकै अवस्थामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको नरहेको बताएका हुन् ।

पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुसंगको भेटमा उनले भने, ‘यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ।’

अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुख सापकोटालाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाल र नेपालीलाई अनिश्चिततातर्फ जाने उनीहरुको निष्कर्ष थियो । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा खारेज हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ । उनीहरुले प्रतिनिधिसभालाई पुनःस्थापना गर्न नसकिएमा संविधान र आम नेपालीको भावना विपरीत हुने बताएका छन् ।

उनीहरुले मध्यवधि निर्वाचन अनावश्यक र सम्भव नभएको बताउँदै निर्वाचनमा हुने खर्चले धेरैजनालाई कोरोना महामारीबाट बचाउन सकिने बताउँदै उनीहरुले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*