प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा पुगेका छन् । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र बोकेर प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा पुगेका हुन् ।
लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो ।
अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको छ । तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले बताएका छन् ।
नेता पोख्रेलका अनुसार प्रचण्ड–नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो ।
नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ ।
प्रचण्ड–नेपाल समूहले ओली समूहमा एक सय २० जनाभन्दा थोरै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका चार सय ४१ सदस्यमध्ये सात जनाले विभिन्न सरकारी पदमा नियुक्ति पाएको कारण सदस्य सङ्ख्या जम्मा चार सय ३४ रहेको पोख्रेलले बताए ।
जसमा तीन सय पाँच जना प्रचण्ड–नेपाल पक्षको रहेको नेता लीलामणि पोख्रेलको दाबी छ । बाँकी एक सय २९ सदस्यमध्ये रामबहादुर थापा बादल पक्षका केन्द्रीय सदस्य कतै पनि नखुलेका कारण ओली पक्षमा एक सय २० भन्दा कम केन्द्रीय सदस्य रहेको पोख्रेलको दाबी छ ।