नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघिबाट सचिवालय बैठक सुरु भएको हो ।
आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि निष्कर्ष निकाल्ने प्रयास हुने बताइएको छ ।
ओली सरकार र पार्टी सञ्चचालनमा असफल भएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए।
त्यसपछि ओलीले पनि त्यसको जवाफ दिँदै मंसिर १३ गते ३८ पृष्ठको जवाफी प्रस्ताव ल्याएपछि त्यसलाई अध्ययन गरेर छलफल गर्नका लागि आजको बैठक राखिएको हो।
ओलीले ल्याएको प्रतिवेदनको जवाफमा अध्यक्ष प्रचण्डका मात्रै व्यक्तिगत विषय उठाइएको भन्दै आजको बैठकमा प्रचण्ड लगायतका बहुमत सदस्यले त्यसबारेमा असन्तुष्टि जनाउने भएका छन्।
सचिवालयका बहुमत सदस्यले दुबै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा छलफल गराउनुपर्ने अडान लिएका छन् भने प्रधानमन्त्री ओलीसहितका केही नेता सचिवालय बैठकबाटै समाधान गर्नुपर्ने अडानमा छन्।
पार्टीभित्र देखिएको विवाद समाधानको पहल गरिरहेका दोस्रो तहका नेताहरुले पनि प्रधानमन्त्री र अध्यक्ष मध्ये कुनै एकबाट राजीनामा गराएर निकास निकाल्नुपर्ने पक्षमा लविङ गरिरहेका छन्।