हेटौंडामा अपाङ्ग बालबालिका आवासगृह शिलान्यास

हेटौडा न्युज
१५ मंसिर २०७७, सोमबार १७:०५
;

मकवानपुर । बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि हेटौंडा वडा नम्बर ६ मा आवास गृह निर्माण गरिने भएको छ । आज एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन् । १५ कठ्ठा ८ धुर सार्वजनिक जग्गा उपमहानगरले उपलब्ध गराएपछि भवन निर्माणका लागि सहज भएको आशा विशेष पाठशालाका उपाध्यक्ष बालकृष्ण चौलागाईले बताएका छन् ।
करीब ४ करोड लागतमा छात्र र छात्राका लागि छुट्टाछुट्टै आवास गृह, कर्मचारी आवास सहित अपाङ्गमैत्री भवन निर्माण गरिने जनाईएको छ । उपाध्यक्ष बालकृष्ण चौलागाइका अनुसार प्रदेश सरकार, स्थानीय सरकारको सहयोगको अपेक्षा गर्दै एकव्यक्ति एक ईटा अभियान सञ्चालन गरेर भवन निर्माण गरिने बताएका छन् ।
सि आशा फाण्डेशनकी डाईरेक्टर आईना बार्का (न्यौपाने) का अनुसार परिवारमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आफ्नै परिवारले समेत बेवास्ता गर्ने, हेला गर्ने गरेको आफूले पाएको बताएकी छिन् । उनका अनुसार त्यस्ता बालबालिकालाई उचित शिक्षा र राम्रो व्यवहार गर्ने हो भने उनीहरु पनि पढ्न लेख्न र बुझ्न सक्ने धारणा व्यक्त गरेकी छिन् ।

सि आशा फाउण्डेशनले सञ्चालन गरेको आशा विशेष पाठशालामा हाल ५० जना बौद्धिक अपाङ्गता, सुस्तमनस्थिति भएका बालबालिकाहरु अध्ययनरत छन्, भने करीब १५ जना बालबालिका विद्यालयले सञ्चालन गरेको छात्राबासमा रहेर अध्ययन गरिरहेका छन् । पाठशालाका अनुसार मकवानपुर सहित अन्य जिल्लाका करीब ८० जना बालबालिकाहरु आवासीय रुपमा अध्ययन गर्न चाहेको भएपनि स्थान अभावका कारण उनीहरुलाई राख्न नसकिएकोले आगामी दिनमा आवासगृह सञ्चालनमा आएपछि सहज हुने जनाईएको छ ।

फाउण्डेशनले देशका सातवटै प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि पाठशाला सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यक्रममा वडा नम्बर–६ का वडाध्यक्ष अर्जुन चौलागाई, पाठशालाका शिक्षकशिक्षिका, कर्मचारी सहित फाउण्डेशनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*