नेकपाले चुनाव हारेका क–कसलाई लग्यो राष्ट्रिय सभामा ? (नामावलीसहित)

काठमाडौं । संघीय संसदका दुई सदन छन्, प्रतिनिधि सभा र राष्ट्रिय सभा । प्रतिनिधि सभा २७५ सदस्यीय सदन हो, जसमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद रहने संवैधानिक व्यवस्था छ ।
स्थायी सदनको रुपमा लिइने राष्ट्रिय सभा भने ५९ सदस्यीय सदन हो । जसमा पालिकाका प्रमुख, उप्रमुख, प्रदेश सदस्यलगायतको मतदानबाट निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ जना रहन्छ । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ भने एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।
मौजुदा संघीय संसदमा सत्तारुढ नेकपको दुई तिहाइ नजिक बहुमत रहेको छ । साथै प्रदेश र स्थानीय तहमा पनि उसैको वर्चश्व रहेको छ । जसको फाइदा लिँदै राजनीतिक नैतिकताविपरीत नेकपाले चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिरहेको छ ।
मौजुदा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बर्दिया १ बाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने नेकपाको यो पहिलो निर्णय र कदम होइन, यसअघि पनि स्थानीय तह र प्रदेशमा वर्चश्व रहेको फाइदा उठाउँदै प्रतिनिधि सभामा हारेकालाई राष्ट्रिय सभा निर्वाचनमा विजयी गराउँदै र मनोनीत गरेर राष्ट्रिय सभामा लगिएको छ ।
गोरखा २ मा प्रतिनिधि सभा सदस्यमा पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पछि राष्ट्रिय सभा सदस्यमा निर्वाचित गराएर सदनमा लगिएको छ ।
यस्तै दाङ–२ (१)मा प्रदेश सभा सदस्यमा पराजित जगतप्रसाद शर्मा, तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भगवती न्यौपाने, कपिलबस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित विमला घिमिरे र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको सदस्यमा पराजित सिंहबहादुर विकलाई पनि नेकपाले राष्ट्रिय सभाको सांसद बनाएको छ ।
यसैबीच नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले झापाको मेची नगरपालिकाको मेयरमा पराजित विष्णु प्रसाईंलाई वागमती प्रदेश प्रमुख बनाएको छ । स्रोतः क्यानाडा नेपाल