बागमती प्रदेशका १३ जिल्लामा ‘हरित अभियान’
मकवानपुर । बागमती प्रदेशको सबै जिल्लामा “हरित अभियान” सञ्चालन गरिने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा ‘हरित अभियान’ सञ्चालन गर्ने भएको हो ।
बाँझो रहेका सार्वजनिक जमिनको प्रयोग तथा बजार क्षेत्रमा बढ्दो अतिक्रमण न्यूनीकरण गर्न “हरित अभियान” सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । बाँझो रहेको सार्वजनिक जमिनमा वृक्षरोपण गरेर प्रयोगमा ल्याउनका लागि अभियान सञ्चालन गर्न लागिएको जनाएको ।
संघीय राजधानी काठमाडौंमा यो अभियान जारी रहे पनि चालू आर्थिक वर्ष २०७७÷७८ बाट बाँकी १० वटै जिल्लामा सुरु गरिने बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताए ।
हरित अभियानअन्तर्गत सहरमा पार्कसँगै सडक करिडोरमा वृक्षरोपण गर्ने मन्त्रालयको योजना रहेको छ । सहरका विभिन्न क्षेत्रमा खाली रहेका जमिनमा साना पार्क निर्माणसँगै वृक्षरोपण गरेर विश्राम स्थलसमेत बनाइने मन्त्री नेपालले बताए ।
हरित सहर निर्माणको लागि काठमाडौंको कागेश्वरी–मूलपानीको एक किलोमिटर, जडीबुटी–पेप्सिकोला २.५ किलोमिटर, हात्तीसार–जयनेपाल करिडोरमा एक किलोमिटर, बागमती करिडोरमा १० किलोमिटर, विष्णुमती, मनहरा खोला र धोबीखोला करिडोरमा वृक्षरोपण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।