राक्सिराङको पुलमा पहिरोले बाटो अबरुद्ध, नपञ्छाईकनै उद्घाटन

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १६:४९
;

मकवानपुर । गत साउन ७ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका जोड्ने पक्की पुल जीर्ण अवस्थामा रहेको तथ्य फेला परेको छ । मनहरी–चैनपुर सडक खण्ड अन्तर्गतको मनहरी र राक्सिराङ गाउँपालिका जोडने आँपखोल्चीको पक्की पुल जीर्ण अवस्थामा रहेको रहस्य बाहिरीएको हो ।

मुख्यमन्त्री पौडेलले गत साउन ७ गते आँपखोल्चीको पक्की पुलसहित मकवानपुरका २ वटा र प्रदेशका अन्य जिल्लाका ३० वटा पुलको एकै साथ हेटौंडाबाट उद्घाटन गरेका थिए ।

मुख्यमन्त्री पौडेलले साउन ७ गते पुलको उद्घाटन त गरे तर सो पुल उद्घाटन अगावै जिर्ण भएको थियो । असार २५ गते खसेको पहिरोका कारण सो पुल उद्घाटन पहिले नै पुल जीर्ण बनेको थियो। तर सो पुलको अवस्थाबारे कुनै जानकारी नलिई भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा तामझामका साथ मुख्यमन्त्री पौडेलले पुलको उद्घाटन गरिदिए ।

जिर्ण अवस्थामा रहेको सो पुलमा हालसम्म पहिरो पन्छाउने काम समेत भएको छैन । यस्तो अवस्थामा मुख्यमन्त्री पौडेलले पुलबारे कुनै जानकारीसमेत नलिई उद्घाटन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

पहिरोका कारण मनहरी–चैनपुर सडकखण्ड अवरुद्ध बनेको छ । १८ मिटर लम्बाई भएको उक्त पुल संघीय सरकारको १ करोड १० लाख ७७ हजार ४ सय ९४ रुपैँया सशर्त अनुदानमा बागमती प्रदेश सरकारले निर्माण गरेको हो ।

२०७६ चैत १२ गते पुलको निर्माण सम्पन्न भएको थियो । सोही बाटो हुँदै आवातजावत गर्ने मनहरी र राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दाले निकै समस्या बेहोर्नु परिरहेको छ ।

पुलमा खसेको पहिरो पन्छाएर आवश्यक मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुको सट्टा पुलबारे कुनै जानकारीसमेत नलिई उद्घाटन गरिदिएपछि मनहरी र राक्सिराङका स्थानीय बासिन्दा प्रदेश सरकारप्रति आक्रोशित बनेका छन् ।

पूर्वाधार विकास कार्यालय चितवनले पहिरोका कारण पुल जीर्ण भएको विषयमा आफुहरुलाई जानकारी नै नभएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*