अस्पतालको बोर्ड मेटाउने ६ जना हिरासतमुक्त, जनही ७ सय जरिवाना

हेटौडा न्युज
५ बैशाख २०८२, शुक्रबार १४:३१
;

मकवानपुर/हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा मकवानपुर प्रहरीले हिरासतमा लिएका ६ जना मुक्त भएका छन् । बिहीबार प्रहरीले हिरासतमा लिएका विशालराज महत, सुनिल गिरी, सफल अधिकारी, राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाल शुक्रबार दिउँसो हिरासतमुक्त भएका हुन् ।

बिहीबार सोधपुछका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा बोलाएर उनीहरूलाई थुनामा राखिएको भन्दै हेटौँडा अस्पताललाई मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्न माग गर्दै आएको समूहले प्रदर्शन गरेको थियो । उनीहरूले प्रमुख जिल्ला अधिकारीमाथि पार्टी निर्देशनमा चलेको आरोप समेत लगाएका थिए ।

बिहीबार आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका उनीहरूलाई सरकारी सम्पत्तिमा बलजफती गरी नाम मेटाउने कार्य गरेको आरोपमा थुनामा राखिएको थियो । सोको बिरोधमा बिहीबार साँझ एक घन्टा राप्तीरोडमा धर्ना दिएका युवाहरूले शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय प्रवेश गर्ने बाटोमा नाराबाजी गरेका थिए ।

हेटौँडा अस्पताललाई मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्नु नहुने भन्दै उनीहरूले गत आइतबार अस्पतालको बोर्डमा उल्लेख भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मदन भण्डारी मेटाएर ‘हेटौँडा अस्पताल’ लेखिएको फ्लेक्स टाँसेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*