बालबालिकाले सिके बोल्ने कला

मकवानपुर/बालबालिकालाई सार्वजनिक भाषणकला सिकाउन हेटौँडामा सञ्चालित सात दिने ‘जुनियर पब्लिक स्पिकिङ तालिम’ सम्पन्न भएको छ ।
हेटौँडा मल्टिमिडिया प्रालि र किताबघरले पहिलोपटक सञ्चालन गरेको तालिममा २४ जना बालबालिकाले भाग लिएका थिए । चैत २३ गतेदेखि सञ्चालित तालिमको समापनका अवसरमा सबै सहभागीहरूले विभिन्न विषयमा आआफ्नो प्रस्तुति दिएका थिए ।
शनिबार नवोदय शिशु सदन माविको सभाहलमा भएको कार्यक्रममा बालबालिकाको प्रस्तुतिपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्दै उनीहरूले हेटौँडामा यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने समेत विचार व्यक्त गरे ।
मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले छोटो अवधीको तालिमबाटै बालबालिकाले महत्त्वपूर्ण सीप सिकेको पाएको बताए । तालिमले बालबालिकामा जस्तोसुकै अवस्थामा आफ्ना कुरा राख्न सक्ने आत्मविश्वास भरेको भन्दै तालिममा सिकेका कुराहरूको निरन्तर अभ्यासले बालबालिकालाई सफल बनाउने विश्वास व्यक्त गरे ।
प्रशिक्षक छवि अनित्यले पहिलोपटक आयोजित कार्यक्रम उपलब्धिमूलक भएको र दोस्रो समूहको तालिम आगामी वैशाख ३ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा सहभागीहरूलाई हेटौँडा मल्टिमिडिया प्रालिका प्रबन्ध निर्देशक देवराज पन्तले प्रमाणपत्र प्रदान गरेका थिए ।