हिंसात्मक बन्यो राजावादीको आन्दोलन, ठाउँठाउँमा आगजनी र तोडफोड

मकवानपुर/राजावादी समूह र गणतन्त्र पक्षधर समाजवादी मोर्चाले गरेका छुट्टाछुट्टै प्रदर्शनले काठमाडौँको वातावरण दिनभर तनावग्रस्त बनेको छ । परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले वानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
राजावादी समूहले गरेको प्रदर्शन अनियन्त्रित हुँदा विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । कम्तिमा दुईजनालाई गोली लागेको प्रदर्शनकारीले दाबी गरेका छन् । यद्यपि प्रशासनले सोको पुष्टि गरेको छैन । प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ पनि केही घाइते भएका छन् ।
तीनकुनेमा प्रदर्शनकारीहरूले एउटा नीजि भवनमा तोडफोड गर्नुका साथै आगजनी गरे । प्रहरीले सो भवनमा लुकेर आफूहरूमाथि अश्रुग्यास प्रहार गरेको उनीहरूले आरोप लगाएका छन् । आगो निभाउन गएको वारुण यन्त्रमा समेत उनीहरूले ढुंगा हानेका थिए ।
राजतन्त्र फर्काउने भन्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रशासनले दिएको क्षेत्र उल्लंघन गर्ने क्रममा प्रहरीसँग मुठभेडको स्थिति सिर्जना भएको थियो । त्यसक्रममा आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईले चलाएको गाडीले सुरक्षाकर्मीहरूको बीचबाट निषेधित क्षेत्र तोडेको थियो ।
प्रदर्शनकारीहरूले विभिन्न सञ्चारगृहलाई पनि निशाना बनाए । उनीहरूले कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेका थिए भने अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी समेत गरेका छन् । पेरिसडाँडामा एउटा सरकारी गाडी जलाएका उनीहरूले माओवादीको पार्टी कार्यालयमा समेत आगजनीको प्रयास गरेका थिए । नेकपा एकीकृत समाजवादीको कार्यालय पनि प्रदर्शनकारीहरूको निशानामा परेको छ । यस्तै सिनामङ्गलस्थित नागरिक उड्डयन कार्यालय र कोटेश्वरमै रहेको भाटभटेनीमा समेत आगजनीको प्रयास भएको थियो ।
तीनकुनेमा कर्फ्यु आदेश
राजावादीहरूको आन्दोलन हिंस्रक हुँदै गएपछि काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँले शान्तिनगर पुलदेखि मनोहरा खोलाको पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।